बन्दिपुर गाऊँपालिकाको आ व २०७५/०७६ को नीति योजना तथा बजेट सार्बजनिकिकरण पुस्तिका

बन्दिपुर गाऊँपालिकाको आ व २०७५/०७६ को

नीति योजना तथा बजेट सार्बजनिकिकरण कार्यक्रम

२०७५ असार २९ गते

प्रकाशित पुस्तिका

बन्दीपुर गाउँपालिकाको संक्षिप्त परिचय

बन्दीपुर गाउँपालिका नेपालको प्रदेश नं. ४ मा पर्ने तनहुँ जिल्लामा अवस्थित एक गाउँपालिका हो । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बन्दीपुरलाई नगरपालिका घोषणा गरिएको थियो । यसलाई नगरपालिका घोषणा गर्दा धरमपानी र बन्दीपुर गाउँ विकास समितिहरू समावेश गरिएका थिए । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा साविकको बन्दीपुर नगरपालिकामा घाँसीकुवाका (१र ९) वडाहरू, र केशवटारका (१,८ र ९) वडाहरूलाई समेटेर बन्दीपुर गाउँपालिका घोषणा गरिएको हो । बन्दीपुर गाउँपालिकाको केन्द्र साविक बन्दीपुर नगरपालिकाको कार्यालय रहको छ । बन्दीपुर गाउँपालिकामा ६ वडाहरू रहेका छन । बन्दीपुरको कुल क्षेत्रफल १०२ वर्ग कि.मी. छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर बन्दीपुर गाउँपालिकाको जनसंख्या २०,०१३ रहेको छ ।

बन्दीपुर तनहुँको पुरानो सदरमुकाम सहर हो । यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको मुख्य व्यापारीक नाकाको रूपमा रहेको थियो । तनहुँ, कास्की, लमजुङ र गोरखाको लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य स्थलको रूपमा यो नाकाको विकास भएको हो । तनहुँ जिल्लाको सदरमुकामको रूपमा रहेको यस ठाउँबाट विसं २०२५ सालमा उक्त सदरमुकामलाई दमौली सारिएको थियो ।